फलामखानी र पेट्रोलियम अन्वेषणको कुरा नपत्याउने कोही पत्रकार भेट्नुभयो भने क्रमश: कावासोतिभन्दा अलिकति उत्तर चढेर माथि पहाडतिर र दैलेखमा हेर्न पठाइदिनुस् । – प्र.म.ओली। 


देशमा विभिन्न खालका भ्रम फैलाएर आनन्द लिने तत्वहरु छन् । सत्य कुरा नबुझ्ने, बुझ्न नचाहने वा भ्रममै रामाउने तत्वहरु पनि छन् । तर, नेपाली जनता स्पष्ट हुनुपर्छ । सरकारको दिशालाई जनताले बुझ्नुपर्छ ।
विगतका सरकारहरुले केही नगर्दा अहिलेको सरकारप्रति पनि जनताको विश्वास डग्मगाएको हो । अघिल्ला सरकारहरु केवल समय गुजार्ने, जब मिति पुग्छ अनि छाडेर हिँड्ने, यसैमा सीमित भए । यो अभ्यास र तरीकालाई अब निरन्तरता दिन सकिदैन र दिनु हुन्न । नेपाल अत्यन्तै राम्रा सम्भावना भएको देश हो । आकारमा धेरै ठूलो छैन । जनसंख्या धेरै छैन । साधन-स्रोतको प्रचुरता छ । तर, न तीनको अध्ययन हुन्छ न अन्वेषण हुन्छ, न खोज-अनुसन्धान हुन्छ । त्यस्तो स्थितिमा नेपाल छ ।
हामीले अब यस अवस्थालाई तोडेर विकास निर्माणको अभियानमा जानैपर्छ । मैले यही अभियानलाई अगाडि सार्न खोजेको हुँ ।

यो अभियान अगाडि सार्न खोजेपछि अब विकास हुन्छ कि क्या हो, नहुनुपर्ने काम हुन आँट्यो कि क्याहो भन्दै एउटा तप्कामा आतंक फैलियो । जनता आशावादी बनेका छन्, तर विद्वान भनिनेहरु, बुद्धिजीवी कहलाउनेहरु आत्तिएका छन् । पढेलेखेका हौं भन्नेहरु केही छट्पटाएका छन् ।
आजमात्रै पनि एकजना बुद्धिजीवीले चटपटे-सटपटे के भनेर लेखेको देखेँ । उहाँलाई त साह्रै ठूलो घोडाले छातीमा जोर लात हानेजस्तो भएको रहेछ । उहाँलाई केमा परेको हो भने रेल पनि आउँछ भन्या छ, पानीजहाज पनि चलाउने भन्या छ । केके गर्ने भयो अब । जुन देशको समुद्र छैन, तीनले पानीजहाज चलाएका छन् कि छैनन् भन्ने कुरा हामीले थाहा पाउनुपरो कि परेन ? समुद्र ती देशको मात्रै होइन, जसको किनारा जोडिएको छ । अरुले पनि प्रयोग गर्न पाउँछन् । त्यसैले भारतसँग र चीनसँग हामीले पारवहन सन्धि गरेका छौं । मैले भनेको थिएँ, यो अहिले तत्काल भइहाल्दैन । केही समय लाग्छ तर हामी चलाउने छौं । त्यति के भनेको थिएँ, अहो एकैछिनपछि त तमासा देखियो । कसैले कागजका जहाज बनाएर गुडाउन थाले । कसैले पहाडमा जहाज बनाएर कुदाउन थाले । यस्तो बुद्धिलाई सलाम गर्नुपर्छ ।
तर एउटा कुरा म के स्मरण गराउन चाहन्छु भने २७ सालमै पानीजहाज किन्न आँटिएको रहेछ । बैनासमेत दिइसकेको रहेछ । कानून बनाइसकेको रहेछ । झण्डा कसरी, कहाँ राख्ने भनेर बजेटमा प्रकाशित भइसकेको रहेछ । मैले पहिलोपटक निकालेको यो कुरा भन्ठानेको थिएँ, तर पहिले यति अगाडि बढेको रहेछ । यो कुरा हिजो मात्र मलाई थाहा भो । अलिकति पैसा दिन नसकेर पछि हटेको रहेछ नेपाल । त्यसपछि त्यो कुरा हराएछ ।
मैले के भनेको थिएँ भने हामीले आफ्ना ट्रक लगेर कलकत्ताबाट सामान ल्याउनु हुन्छ भने रेल चैं किन लैजानु हुन्न ः रक्सौलसम्म अरुको रेल आउनुहुन्छ भने हाम्रो रेल रक्सौलसम्म किन जानुहुन्न ? नेपालमा केही गर्छु भन्यो भने बुद्धिजीवीलाई चट्पटे लाग्छ ।
नवलपरासीको पहाडमा हामीले १० किलोमिटरको फलाम खानी पत्ता लगाइसक्यौं । अब त्यसको उत्खनन र प्रशोधन सुरु हुन्छ । बुद्धिजिवी छट्पटाउछन् यो कुरा सुनेर । मैले ‘इन्भरटेड कमा’का बुद्धिजिविलाई भनेको हो । कमसेकम १० खर्ब, जुन नेपालको सिंगै बजेटजति हुन्छ, त्यो खानीबाट आउँछ ।
अर्को कुरा दैलेखमा पेट्रोलियम खानीको सर्भे गरिसक्यौं । उत्खनन् गर्दैछौं । अलिकति निस्कर्षमा पुर्‍याउन बाँकी छ । अब त्यो पेट्रोलियम नेपालबाट निकाल्ने कि ननिकाल्ने बुद्धिजिविहरुले भनिदिनुपरो । अघि बद्री पंगेनीले सोध्नुभो, दक्षिणको तेल हाल्दाहाल्दा हैरान भइयो, उत्तरको कहिले हाल्न पाइन्छ । अब उत्तरको र दक्षिणको होइन, आफ्नै तेल बनाउने कोशीश गरौं । दुई वर्षभित्र नेपालमा आफ्नै पेट्रोल उत्पादन हुन्छ । म हाम्रो योजना र नीति-कार्यक्रमका आधारमा बोल्दैछु ।
०००

दुनियाँका देशभन्दा असाधारण देश छ हाम्रो । प्रकृतिले सबथोक दिएको छ । नेपालीजति राम्रो श्रमजिवी विश्वमा अरु मानिदैनन् । अरुले नेपाली छान्छन् जे कामका लागि पनि । अनि यस्तो जनशक्तिले हाम्रै देश किन नबननाउने ? यस्तो उर्बर देशमा कृषिलाई औद्योगिकरण किन नगर्ने ? स्वदेशी तथा विदेशी उद्योगहरु किन स्थापना नगर्ने ? हामी एग्रो फरेस्ट्रीमा काम गर्नेछौं । फलफुलको जंगल बनाउन सकिन्छ । अनि न्यूरोडमा घडेरी किनेर धुपिसल्ला बनाएको छ । त्यसको आफ्नो ठाउँ हुन्छ । के लगाउनुपर्ने ठाउँमा के लगाएको छ ।
केटाकेटीलाई पढाइन्छ, पछि विद्वान हुन्छ भनेर । त्यो पनि कसैलाई पत्यार भएन भने के जवाफ दिने ? स्कुल हालेकै दिन खोइ त विद्वान भएको भनेर सोध्नेलाई के जवाफ दिने ? बुद्धिजिविका प्रश्न सुनेर छक्क पर्छु म । वास्तवमा जनताबाट होइन केही बुद्धिजिविबाट म हैरान भइसकेँ । केमा आफ्नो बहादुरी देखाउने भने एउटा स्टाटस लेख्यो, ट्वीट गर्‍यो । सारा दुनियालाई भ्रममा पार्‍यो । कसैले ए अँ भनिदियो भने छाति फुलायो । कुनै कुनै सञ्चारमाध्यम देख्छु, आन्दोलनमा व्यापक जनसमर्थन देखियो रे । नाचगान भएको ठाउँमा मान्छे जम्मा हुँदैनन् ? उनीहरु त नाच हेर्न आएका हुन् । मैले त (आन्दोलनकारीलाईं) बोलाएको हो नी, सिंहदरबारमा । बाहिर घाम तापेर, नाचगान गरेर बसेका छन् । जायज माग पूरा गरिदिने भनेको छु । तर घाम तापेर बसेका छन् ।
हामी भुकम्पबाट ध्वस्त भएका छौं । नाकाबन्दीले अर्थतन्त्रमा यति ठूलो क्षति भएको छ एक प्रतिशतभन्दा कम वृद्धिदरको आकलन गरिएको छ । आर्थिक वृद्धि एउटा ठहरावमा छ । अर्थतन्त्र फसेको छ । मैले भनेको छु, आउँदो वर्ष ६५ प्रतिशत वृद्धिदर हासिल हुनेगरी तीव्रताका साथ काम अघि बढाइन्छ । पुननिर्माणका साथ अनेक काम गरिन्छ । तर, बुद्धिजिवीहरुलाई छटपटी छ । नीति तथा कार्यक्रमले गर्दा अलिकति छट्पटाए । अनि बजेट आउनै नदिने षडयन्त्रमा लागे । तर त्यो पार लागेन । नीति-कार्यक्रम त आयो । अब देश विकास गर्ने बजेट आउछ कि भनेर पीर गरिरहेका छन् । हो त्यस्तै बजेट आउछ, पिर मानेर के गर्ने ? देशलाई अगाडि बढाउने, जनतालाई हेर्ने बजेट आउँछ आउँछ । बुद्धिजिवीहरु रोएर के गर्ने ?
०००

देश निर्माण गर्न सकिन्छ । यहाँबाट निजगढसम्मको बाटो बनाउन सक्दैन नेपालले ? नेपालीहरु कहाँकहाँ पुगेका छन् । कतार हेर्नुुस त, कसले बनाएको हो ? सारा नेपालीहरुले बनाएको हो । मलेशीयामा कत्राकत्रा काम नेपालीहरुले गरेका छन् । अनि नेपालीहरुले नेपाल बनाउन सक्दैनन् ? हाम्रा इन्जिनीयर इन्जिनीयरै होइनन् ? यत्रा इन्जिनीयर छन् हामीसँग । हाम्रा इन्जिनीयरले हाम्रो देश जति राम्ररी जान्दछन्, त्यति अरुले जान्दैनन् । त्यसकारण म के आग्रह गर्न चाहन्छु भने राष्ट्र निर्माणको अभियानमा अत्यन्त सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ ।
एमालेको नेतृत्वमा सरकार बन्दा तराई बलिरहेको थियो । नाकाबन्दी थियो । नेपाल-भारत सम्वन्ध कटुताको स्थितिमा थियो । यो अवस्थाबाट हामीले सच्याएका छाैं । मैले भारतको र चीनको भ्रमण गरेर देशका निम्ति आवश्यक पर्ने दुरगामी सम्झौता गरेँ । नेपालको अन्तर्राष्टिय सम्वन्धलाई खास उचाई प्राप्त भएको छ । यसले आकार लिएको छ । यसले नेपालको प्रतिष्ठा बढेको छ ।
मैले देशभरका तुइनलाई झोलुंगे पुलले विस्थापित गर्नुपर्छ भनेँ । नहुने कुरा गर्‍यो पो भन्छन् । तुइन विस्थापति गर्नु हुँदैन ? कस्तो लाग्छ तपाइंलाई ? तुइन हटाउनछु भन्दा पनि आलोचना हुनु ठीक छ ? कुन असम्भव कुरा गरेको हो मैले ? सानो कुरा हो । पहिले गरेको भए हुन्थ्यो, गरेनन् । देश विकास एकै छिनको काम होइन । एकै छिनमा कुनै देश बन्दैन ।
म एउटा कुरा तपाईंहरुलाई सिकाउँछु । निदाउने बेलामा डरलाग्दो सर्प सम्झेर सुत्यो भने सपनामा त्यही सर्पले दुख दिन्छ । नराम्रा कुराहरु सुनाइदिएर जनतालाई विनासित्ति त्रशित किन पार्ने ? जनताको आशा र विश्वास जगाउनु पो पर्छ । उल्टो हुँडल्दिने, भड्काउने हो ? यो पनि भएन, त्यो पनि भएन, यो पनि हुँदैन, त्यो पनि हुँदैन भनेर नकारात्मक चिन्तन फैलाउनु ठीक हो ? मैले सुनेको छु, जहिले पनि सरकारले यसो गर्छु भन्छ गर्दैन । अहिलेको सरकारले जसरी विगतमा कसैले भनेकै थिएन । भनेके थियो ? थिएन । अहिलेकोले भन्छ मात्र होइन गर्छ । अनि किन भनेको भनिन्छ ? जनतासँग कुरा लुकाउनुपर्ने होइन नी । हामी के गर्दैछौं भन्ने जनताले थाहा पाउनुपर्छ । फलामखानीको कुरा नपत्याउने कोही पत्रकार भेट्नुभयो भने कावासोतिभन्दा अलिकति उत्तर चढेर माथि पहाडतिर पठाइदिनुस । पेट्रोलियम अन्वेषणको कुरा पत्याउदैन भने दैलेखमा हेर्न पठाइदिनस ।
बसिराखेर बिकास हुदैन । अगाडि बढेर हुन्छ । राष्ट्र निर्माणको महाअभियानमा अगामी आर्थिक वर्षलाई विकासतर्फको प्रस्थान वर्ष तोकेको छु । आउँदो वर्ष विकासतर्फको प्रस्थान वर्ष हुन्छ र नेपालले नगरेको वृद्धिदर हासिल गरेर अगाढि बढ्छौं ।
०००

तीव्रताका साथ कुदेनौं भने अगाडि पुगेकालाई भेट्न गाह्रो हुन्छ । धेरै ठाउँमा बोल्दा म साधारणतया कोटेसन भनिहाल्दिन । तर यतिबेला यूएईका प्रधानमन्त्रीको कोटेसन सुनाउन चाहन्छु । माइ भिजन भन्ने किताबमा उनले लेखेका छन् । अफ्रिकाको एउटा जंगलमा बिहान एउटा सिंह उठ्छ । जिउ तन्काउछ । सोच्छ, आज मैले छिटोभन्दा छिटो कुद्ने हरिणभन्दा छिटो कुद्न सकिनँ भने भोकले मर्छु । सिंहै भए पनि उसलाई कसैले आएर मुखैमा पकिस्दैन । छिटो कुद्ने हरिणभन्दा छिटो कुदयो भने मात्र उसको भोजन जुर्छ । त्यहि जंगलको अर्को कुनामा हरिण त्यसैगरी उठ्छ, आङ तान्छ र तर्कना गर्छ, आज मैले छिटोभन्दा छिटो कुद्ने सिंहभन्दा छिटो कुद्नुपर्छ । होइन भने म मारिन्छु । सर्भाइभल अफ द फिटेस्ट जस्तो अलिकति थ्यौरी लागू हुन्छ । जो कुद्न सक्दैन त्यो या भोकले मर्छ या अरुले खान्छ । सिंह हो, बलवान हो, बलिस्ठ छ तर कुद्न सकेन भने भोकै मर्छ । हरिण हो तर छिटो कुद्न सकेन भने सिंहले भक्षण गर्छ । हामी मर्नबाट जोगिने उपाय छिटो कुद्ने हो । हाम्रो निम्ति छिटो कुद्नु वाध्यता छ ।
(बिहीबार प्रेस चौतारी नेपालको ८ औं सम्मेलन उद्घाटनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्तव्यको सम्पादित अंश)

स्रोत्: (onlinekhabar २०७३ जेठ ६ गते २०:४० मा प्रकाशित) 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s