हराइरहेको मलेसियन विमानका रहस्य

विद्युतीय धुवाँले पाइलटहरू बेहोस भएपछि ६ घन्टासम्म जहाज अटोपाइलटमा उडेर दुर्घटनाग्रस्त भएको अनुमान बढी तर्कसंगत लाग्छ ।

20140325-105705 am.jpg

अमेरिकाको फ्लाइट सेफ्टी एकेडेमी फ्लोरिडामा एकजना वरिष्ठ प्रशिक्षक पाइलटले यस पंक्तिकारलाई सन् १९९९ मा भनेका थिए, ‘संसारमा अत्यधिक सुरक्षा भएका हवाइजहाज लाग्छ, तर एकाबिहानै संसारकै सबैभन्दा सुरक्षित विमान दुर्घटनाको समाचारले सबैलाई अचम्म बनाइदिन्छ ।’
हुन पनि हो, मलेसियन एयरलाइन्सको ७७७ बोइङ विमान संसारकै सबैभन्दा सुरक्षित जहाजमध्येको एक हो, तर त्यही जहाज अचानक बेपत्ता हुनु र बेपत्ता भएको यति दिन बितिसक्दा पनि ठोस कुरा पत्ता लगाउन नसक्दा हवाई सुरक्षामाथि कैयौं प्रश्न ख्ाडा भएका छन् । सन् २०१३ मा मात्रै संसारभरि १२ वटा ठूला यात्रु विमान दुर्घटना भएका छन् ।

यति दुर्घटना भएर पनि आजका दिनसम्म हवाई यातायात नै संसारको सबैभन्दा सुरक्षित यातायात साधन भएको छ । प्रत्येक दिन संसारभरि ३० लाख मानिसहरू निर्धक्क हवाई यात्रा गरिरहेका छन् । अमेरिकामा तीन महिनामा सडक दुर्घटनामा मर्नेहरू हवाई दुर्घटनामा ६० वर्षमा मर्नेहरूभन्दा बढी देखिएका छन् । मलेसियामा मात्रै वर्षेनि ६ हजार २ सय ५ जनाले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । तसर्थ हवाई यात्रा अन्य यातायातको साधनभन्दा धेरै सुरक्षित छ, तर शतप्रतिशत सुरक्षित भने छैन । त्यसैले राइट ब्रदर्सले हवाइजहाजको आविष्कार गरेपछि सन् १९०३ मा भनेका थिए- यदि तपाईहरूलाई पूर्णरूपमा सुरक्षित चाहिन्छ भने तरवार पछाडि उभिएर चरा उडिरहेको हेर्नुस् ।

हवाई दुर्घटनाका मुख्य कारणहरूमा पाइलटको गल्ती हो, तर अन्य कारणहरूमा यान्त्रिक गडबडी, मर्मत-सम्भारमा हेलचक्र्याइँ, प्रतिकूल मौसम, जहाजहरू एकआपसमा ठोक्किनु, हाइज्याक हुनु, बम विस्फोटमा पर्नु, चरामा ठोक्किनु आदि पर्छन् । विगतका दशकहरूमा यस्ता गल्तीहरू नहोस् भनेर कैयौं नयाँ उपकरणहरू आविष्कार भइसकेका छन् । उदाहरणका लागि, विमानहरू एकआपसमा नठोकिन ट्राफिक ‘कोलिजन एभ्वाइडेन्स सिष्टम’ (टीक्यास), जमिनमा नठोकिन ईजीपीडब्लुएस, खराब मौसम छल्न वेदर राडर, आपतकालीन स्थितिहरू अभ्यास गर्न सिमुलेटरहरू र विभिन्न तालिमहरू सञ्चालनमा आइसकेका छन् ।

तर विडम्बनाको कुरा त के छ भने नेपाली आकाशमा अझै केही विमानहरू टीक्यास, ईजीपीडब्लुएस र मौसम राडरविना नै उडान भरिरहँदा नेपाली आकाशमा केही बढी नै हवाई दुर्घटना भइरहेका छन् । अर्कोतिर संसारकै सबैभन्दा सुरक्षितमध्येको एक विमान बोइङ ७७७ आठ मार्च २०१४ मा उडेको मलेसियन विमानको केही समयमै सम्पर्कविहीन हुँदा हवाई इतिहासमा रहस्यपूर्ण बन्न पुगेको छ । यो जहाज उडेको केही समयमै पाइलटले मलेसियन कट्रोल टावरसँग ‘अल राइट गुटनाइट’ भनेपछि उक्त विमानको ट्रान्पोन्डर (यस्तो उपकरण, जसले विमानको उचाइ, गति र पोजिसन बताउँछ) र आफ्ना सञ्चारसेटहरू बन्द भएको थियो । उत्तर-पश्चिम दिशातिर उडिरहेको विमान अचानक दक्षिण-पश्चिम दिशातिर मोडिएको थियो । र राडरबाट सम्पर्कविच्छेद हुनपुगेको थियो ।

कसैले जबर्जस्ती वा पाइलटले आफूखुसी जहाजलाई बेग्लै दिशातिर मोडेर बेपत्ता भएको भनेर मलेसिया सरकारले बेपत्ता भएको भनिए तापनि हाल आएर विभिन्न हवाइविज्ञहरूले दुर्घटनाको पछाडि मुख्य चार अनुमान अघि सारेका छन् । जस्तो-पहिलो, हवाइजहाजमा अचानक प्रेसराइजेसन फेल भएको वा सानो विस्फोट भएको वा विद्युतीय आगो लागेको वा धुवाँ वा अन्य कारणले पाइलट र यात्रुहरू मरेको र जहाजको इन्धन हुन्जेलसम्म करिब सात घन्टा अटोपाइलटमा उडेको हुनुपर्ने आशंका गरिएको छ । यस्तो कारणले सन् १९९९ मा चार्टड गरिएको लिएर जेटका पाइलट र यात्रुहरू बेहोश भइसकेपछि चार घन्टा अटोपाइलटमा उडेर इन्धन सकिएपछि दक्षिण डकोटा भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

दोस्रो, कुनै कारणवश पाइलटमात्र बेहोश हुनथालेपछि उसले विमानलाई मलेसियातिर मोडेको हुनसक्ने र पाइलट पूर्णरूपमा बेहोश भएपछि इन्धन हुन्जेलसम्म उडेको र दक्षिण इन्डियन महाशागरसम्म पुगेको भएकोले त्यस क्षेत्रमा अहिले खोजी कार्य तीव्र गरिएको छ । अटोपाइलटमा उडिरहेको इन्धन सकिएपछि विस्तारै विमान तल झरेर पानीमा दुर्घटना हुनसक्ने भएकोले जहाजको भग्नावशेष ठूलै भागमा हुनसक्ने अनुमान गरिएको छ ।

तेस्रो, हालसम्म यस घटनामा आतंकवादीको हात रहेको कुनै ठोस प्रमाण भने भेटिएको छैन, यद्यपि शंकाचाहिँ गरिएको छ । विमान दुर्घटनाग्रस्त भइसकेपछि मलेसियसन प्रहरीले दुबै पाइलटको घरमा खानतलासी गरेका थिए । त्यसमध्ये मुख्य पाइलटकै घरमा एक फ्लाइङ सिमुलेटर भेटियो, जुन अर्को रहस्यको विषय बनेको छ । उड्डयन भाषामा सिमुलेटर भन्ने यस्तो यन्त्र हो, जसमा विमानको विभिन्न आपतकालीन अवस्थाहरूबारे जमिनमै बसेर पाइलटलाई तालिम दिइन्छ । यस्तो यन्त्र एयरलाइन्स वा तालिम केन्दसँग मात्रै हुुन्छ । नेपालको सन्दर्भमा यस्तो यन्त्र कोहीसँग पनि छैन र नेपाली पाइलटहरू सिमुलेटरको तालिम गर्न थाइल्यान्ड वा अन्य देशमा जाने गर्छन् । भलै पाइलटको घरमा भेटिएको सिमुलेटर अत्याधुनिक खालको होइन, यद्यपि यस्तो यन्त्र पाइलटको निजी घरमा कसरी भेटियो ? त्यसबारे मलेसियन सुरक्षा निकायले गम्भीर चासो लिइरहेको छ । उक्त सिमुलेटरबाट विभिन्न योजनाहरू पाइलटले घरमै बसेर अभ्यास गरेको त होइन ? आशंका गरिएको छ ।

दुर्घटना भएको विमानमा दुई यात्रुहरूबारे पनि सुरुमा निकै शंका गरियो, जसले थाइल्यान्डबाट चोरिएका अष्ट्रियन र इटालियन पासपोर्टमा बेइजिङ हुँदै युरोपतिर यात्रा गर्दै थिए । उनीहरू कतै आतंकवादको तारसँग जोडिएका त छैनन् भन्ने आशंका पनि गरियो । तर त्यो आशंका इन्टरपोलले केही दिनमै सही नभएको दाबी गर्‍यो ।

तैपनि यस दुुर्घटना पूर्णरूपमा आतंकवादको हात नरहेको जिकिर पनि कसैले गर्नसकेका छैनन् । तर पनि जहाजले ४५ हजार फिटबाट २३ हजार फिटसम्म उत्रेको र अचानक बाटो बदलेको हुनाले अपहरण भएको हुनपर्ने वा एकजना स्वयम् पाइलटले यस्तो हर्कत गरेको हुनसक्ने आशंका गरिएको छ ।

चौथो, उक्त विमानको पाइलटले आत्महत्या गरेको वा नराम्रो परिस्थितिबाट बचाउँदा-बचाउँदै यस्तो भएको हुनसक्ने अनुमान छ । उदाहरणका लागि, इजिप्ट विमानको फ्लाइट नम्बर ९९० जहाजमा २ सय १७ यात्रु अमेरिकाको लसएन्जेल्सबाट न्युयोर्क पुग्दै कायरोका लागि उडेको विमान एटल्यान्टिक महासागरमा कोपाइलटले आफ्नो धर्मको मन्त्र जप्दै जबर्जस्ती विमानलाई डाइभ गराउँदै दुर्घटना गराएका थिए ।

अचम्मको कुरा के छ भने विमानको ट्रान्सपोन्डर र सञ्चारसेट कसरी बन्द भयो भन्ने हो । त्यसैले केही विज्ञहरूले जहाजमा आगो लागेको हुनुपर्ने, जसले पाइलटले सर्किट ब्रेकर -घरमा लगाइएको बिजुलीको फ्युजजस्तै) अफ गरेको हुनुपर्ने, जसले गर्दा ट्रान्सपोन्डर र सञ्चारसेटहरू बन्द भएको अनुमान लगाएका छन् ।

उक्त विमानका पाइलटले दुई वर्ष पहिले थाइल्यान्डबाट मलेसियाका लागि उड्दै गर्दा विदेशी केटीहरू ककपिटमा बस्न अनुमतिमात्र दिएनन्, आफूले लगाएको टोपीसमेत ती युवतीलाई लगाउन दिएर फोटो सेसन गरिएको तस्वीरहरू दुर्घटनापश्चात विभिन्न वेबसाइटमा छरपस्ट बाहिर आए । यसले देखाउँछ, मुख्य पाइलट रसिक र विन्दास स्वभावका थिए । जबकि नागरिक उड्डयनको नियमअनुसार, ककपिटमा यात्रुलाई त्यहाँ जान पूर्णरूपमा बन्देज गरिन्छ । धेरैजसो विशेषज्ञले मुख्य पाइलटले त्यस्तो रसिक स्वभावलाई यस दुर्घटनासँग जोडेका छैनन् ।

यस पंक्तिकारको पूर्वी एसियाको आकाशमा विमान चलाउँदाको अनुभवमा विद्युतीय आगो लागेको र त्यसपछि गरिने चेकलिष्टमा केही सिष्टमहरू अफ गर्दै चेक गर्नुपर्ने भएकोले ट्रान्सपोन्डर र सञ्चार बन्द भएको हुनसक्छ । र त्यसपछि पाइलटले आपतकालीन अवतरण गर्न मलेसियातिरै मोडिएको हुनसक्छ । विद्युतीय धुवाँले पाइलटहरू बेहोश भएपछि ६ घन्टासम्म जहाज अटोपाइलटमा उडेर दुर्घटनाग्रस्त भएको अनुमान बढी तर्कसंगत लाग्छ ।

जहाज नभेटिन्जेलसम्म र ब्ल्याक बक्स फेला नपरुन्जेलसम्म हवाई विशेषज्ञहरू आआफ्ना किसिमले यस दुर्घटनाको व्याख्या गरिरहनेछन् । अमेरिकाको बर्मुडा ट्राइएन्गेलमा जहाजहरू हराएजस्तै मलेसियसन विमानको यो जहाज हराएपछि उड्डयन क्षेत्रमा कैयौं प्रश्नहरू भने खडा गरिदिएको छ ।

उप्रेती इन्डोनेसियाको लाइन एयर (विङ्स अवादी) मा प्रशिक्षक क्याप्टेनका रूपमा कार्यरत छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s