बेल्जियम,
आगामी मे २५ मा हुने बेल्जियमको संसदीय निर्वाचनमा नेपाली नागरिक खड्कबहादुर केसी उम्मेदवार भएका छन् ।
सोसलिष्ट पार्टी ग्रुनको तर्फबाट उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १ सय ५० सदस्यीय संसद सदस्यको निर्वाचनमा केसी प्लान्डर्स क्षेत्रको फ्लेमिस ब्राबान्त जिल्लाका उम्मेदवार हुन् ।
केसीले चुनावी उम्मेदवारी नेपाल चिनाउने सुनौलो अवसर पनी भएको बताए । ‘परिणाम आफ्नो ठाउँमा छ,’ उनले भने, ‘तर, मतदाताले नेपाल अवश्य चिन्छन् ।’ नेपाली तथा एसियाली नागरिकको बसोबास क्षेत्र भएकाले परिणाम आफ्नो पक्षमा आउनेमा उनी विश्वस्त छन् ।
पश्चिम नेपालको पर्वतका बासिन्दा केसी १६ वर्षदेखि बेल्जियममा बस्दै आएका छन् । उनी सन् २०१२ मा भएको स्थानीय चुनावमा लुभेन नगरपालिकाको सदस्यमा ग्रुन पार्टीबाट लडेका थिए ।
बेल्जियममा २१ वर्ष पुगेकाले उम्मेदवार बन्न पाउँछन् ।
महिला’पुरुष उम्मेदवार ५०/५० प्रतिशत हुनु पर्ने निर्वाचन प्राणालीमा राजनैतिक दलको लागि प्रत्येक जिल्लामा(सीमित क्षेत्रबाहेक) ५ प्रतिशत थ्रेस होल्ड कायम गरीएको छ । भाषिकरुपमा डच,फ्रेन्च र जर्मन तथा भौगोलिक रुपमा फ्लान्डर्स, वालुन र राजधानी क्षेत्र ब्रसेल्स गरी तस्न किसिमले विभाजित बेल्जियमले यस भन्दा अगाडि सन् २०१० मा भएको आमनिर्वाचनपछि सरकार गठनका लागि कुर्नु परेको ५ सय ४१ दिनको विश्व रेकर्ड बनाएको थियो ।
बेल्जियम संबैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था भएको देश हो ।
-दीपकज्योति पौडेल/बेल्जियम्