१३ पुस, काठमाडौं ।
नेकपा एमालेले संविधानसभामा जाने समानुपातिका तर्फका ८४ जना सभासदको टुंगो लगाएको छ । तीन दिनदेखि गोकर्ण रिसोर्टमा चलेको स्थायी समितिको बैठकले शुक्रबार साँझ समानुपातिकका सभासदको टुंगो लगाएको एमाले स्रोतले जानकारी दिएको छ ।
काठमाडौंको उत्तरी गोकर्ण रिर्सोट बसेको स्थायी समितिको आवासीय बैठकले समानुपातिक सभासदको टुंगो लगाएको हो । एमाले स्रोतले दिएको जानकारी अनुसार एमाले सचिव युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, स्थायी समितिका सदस्य भरतमोहन अधिकारी, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, तुलराज विष्ट र पशुपति चौलागाईंलाई समानुपातिकबाट सभासद बनाउने निर्णय भएको छ ।
एमाले केन्द्रीय सदस्य घनश्याम भुसालले समानुपातिकका सबै सभासदको टुंगो लागिसकेकाले शनिबारसम्ममा पार्टीको धारणा आउने जानकारी अनलाइनखबरलाई दिनुभयो । ‘समानुपातिकका सबै सभासदको टुंगो स्थायी कमिटिले शुक्रबार साँझ लगाएको छ’, भुसालले भन्नुभयो, ‘सभासदका लागि पार्टीभित्र अनावाश्यक किचलो हुने भएकाले आवासीयरुपमा स्थायी समितिको बैठक बसेर सभासदको चयन गरिएको हो ।’
बैठकले आदिवासी जनजातिहरुलाई पनि प्राथमिकतामा राख्दै समानुपातिकबाट सभासद बनाउने निर्णय गरेको छ । आदिवासी जनजातिबाट समानुपातिकमा सभासद हुनेहरुमा स्याङजाका गणेशमान गुरुङ, ललितपुरका सिद्दिलाल सिंह, धादिङका गंगाधर तुलाधर, काठमाडौंका विनोद श्रेष्ठ, तुलबहादुर गुरुङ, इच्छाराज तामाङ, राजधानी दैनिकका मालिक महेन्द्र शेरचन, बाग्लुङका नरबहादुर थापा मगर, रोल्पाका गोकुल घर्तीसहित रहनुभएको छ ।
दलित समुदायको प्रतिनिधित्व गर्दै चुडामणि जंगली, टेकु नेपाली, जीतु गौतम, ज्ञानु गैरे, अफिलाफ उखेडा, शारदा सुवर्णकार, शिवकुमारी गोतामे र भागवत विश्वासीलाई पनि सभासद बनाउने निर्णय एमालेले गरेको छ ।
त्यसैगरी मधेसीबाट रामचन्द्र साह, सत्यनारायण मण्डल, धर्मनाथ साह र कृपाराम रानासहितलाई पनि एमालेले सभासद बनाउने निर्णय गरेको छ । त्यसैगरी राजधानी दैनिकका मालिका महेन्द्र शेरचन र नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष शीतल झा पनि सभासद बन्ने हुनुभएको छ ।
स्थायी समितिको बैठकले एमाले केन्द्रीय सदस्य रहनुभएका सबै महिलाहरुलाई समानुपातिकबाट सभासद बनाउने निर्णय गरेको छ । सभासद हुनुभएका महिलाहरुमा उपाध्यक्ष विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य, जयन्ती राई, कल्पना चापागाई, गरिमा साह, कमला सुवेदी, गौरी ओली, ममता गिरी, श्रीमाया थकाली, कमला महतो, रञ्जना सरकार र टुका हमाल रहनुभएको एमाले स्रोतको दावी छ । महिलाबाट सभासद बन्नुभएका अन्यमा शान्ता मानवी पनि रहनुभएको छ । त्यसैगरी विराटनगरकी उद्योगपती राज्यलक्ष्मी गोल्छा पनि समानुपातिक सभासद बन्नुभएको छ।
सबै महिला केन्द्रीय सदस्य र अन्य जिम्मेवारीमा रहेका महिलालाई सभासद बनाउँदा पनि एमालेबाट सभासद हुने महिलाहरुको संख्या भने ३३ प्रतिशत नपुग्ने भएको छ ।
बैठकले सबैको नामलाई अन्तिम रुप दिएपछि शनिबार निर्वाचन आयोगलाई सूची बुझाइने छ । शनिबार आयोगमा सो नामावली बुझाइएपछि मात्रै त्यसलाई सार्वजनिक गरिने एमाले स्रोतको दावी छ । स्थायी कमिटीले यसअघि सम्पन्न केन्द्रीय कमिटीले तय गरेको मापदण्डअनुसार समानुपातिक सदस्यका नामावली तय गरेको जनाइएको छ।
को को बञ्चित भए सभासद हुन ?
एमालेको समानुपातिक सभासदमा पार्टीका प्रभावशाली नेताहरु प्रदीप नेपाल, केशव बडाल, मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, खगराज अधिकारी, किरण गुरुङ, परशुराम मेघीगुरुङ, माधव पौडेल, बेदुराम भुसाल, भानुभक्त जैसी पर्न सक्नुभएन । अनेरास्ववियुका तीनजना पूर्वअध्यक्षहरू राजेन्द्र राई, रामकुमारी झाँक्री र ठाकुर गैरे तथा पूर्व सचिव रचना खड्काको नाम पनि सभासदको सूचिमा अटेन ।
समानुपातिकमा रहनुभएका नायक भूवन केसीलार्इ एमालेले पुनः हिस्सा बनाएको छ । काठमाडौं १ मा एमालेबाट प्रत्यक्षमा चुनाव लड्ने अन्तिम तयारीमा रहँदा टिकट खोसिएपछि उहाँलार्इ एमालेले समानुपातिकमा राखेको थियो । समानुपातिकमा परेपछि एमालेको चुनावी प्रचारमा खट्नुभएको केसी पुनः हिस्सिनुपरेको छ ।
(स्रोत्: अनलाईन खबर)