सुहागरात र कुमारीत्व

उमेर पुगेका किशोरकिशोरी, तरुणतरुणीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र आशंकापूर्ण दुवै हुन्छ। यसबारेमा वयस्क स्त्रीपुरुषका साथीसंगिनीसँग पहिलेदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ। तर, पहिलो सम्भोग र सुहागरातको कल्पना जति मिठो हुन्छ, यथार्थ त्यसभन्दा धेरै फरक भएको भनाइ सुन्नुपरेको मेरो अनुभव छ। मूल विषयमा प्रवेश गर्नुअघि केही शब्दहरूको अर्थ र उत्पति बुझ्दा हामीलाई अगाडि बढ्न सजिलो हुन्छ।

सुहागरात, मधुरात्रिजस्ता शब्द फिल्मी प्रभावले नेपाली शब्दकोशका बहुप्रचलित शब्दहरूमध्येका शब्द भएका छन्। हिन्दीमा सुहागको अर्थ सिंदूर हुने हुनाले पत्नीले पतिको सिन्दूर ग्रहण गरेपछि र पतिले पत्नीलाई सिंदूर दान गरेपछिको पहिलो रातलाई सुहागरात भनिएको हो। सुहागरात पहिलो यौनसम्पर्कको पर्यायवाची शब्द होइन। कारण पहिलो यौनसम्पर्क सुहागरातकै दिनमात्र हुन्छ भन्ने पनि छैन र सुहागरातको दिन पहिलो यौनसम्पर्क हुनैपर्दछ भन्ने पनि छैन।

सुहागरात जीवनको ठूलो कोसेढुंगामा परेको घुम्तीजस्तो अवस्था हो। दाम्पत्य जीवनमा यसको प्रभाव निकै दूरगामी हुन्छ। ‘सम्भोग’ शब्द आफैँ आफ्नो अर्थ बोल्ने शब्द हो। संस्कृतमा ‘सम’ भनेको बराबर हो र ‘भोग’ भनेको अनुभव वा प्रयोग हो। जुन अनुभव परस्परमा बराबरी बाँडेर भोग गरिन्छ त्यो सम्भोग हो। यौनसम्पर्क स्थापित हुँदा दुवै पक्षको समान सहभागिता र परस्पर यौन सुखद आदानप्रदान हुने हुनाले ‘सम्भोग’ भन्ने बित्तिकै यौनसम्पर्क भन्ने बुझिन्छ र यो शब्द पनि त्यही अवस्था बुझाउन प्रयोग हुन्छ। ‘सुहागरात’ हिन्दीबाट नेपाली आयातीत शब्द हो। ‘मधुरात्रि’ अंग्रेजी शब्द ‘हनीमून’ को ठाडो अनुवाद हो।

‘सुहागरात’ को वैधानिक माध्यमबाट पहिलो यौनसम्पर्क स्थापना गर्न चाहने वा एकअर्कासँग पहिलो सम्भोग स्थापना गर्न चाहने दम्पतीहरूले के बुझ्नु जरुरी छ भने त्यसभन्दा पनि तत्काल महŒवपूर्ण कुरा त्यसको वातावरण निर्माण हो। यौन सम्बन्धमा पुरुषको भूमिका नेतृत्वदायी हुने हुनाले वातावरण निर्माणमा उसको भूमिका बढी जिम्मेवारीपूर्ण हुन्छ। त्यसबेला नारीका मनमा अपरिचित वा बाहिरी रूपमा मात्र परिचित पुरुषसँग रातको एकान्त एक्लै बिताउनुपर्ने पलहरूको कल्पना भय र मिठास दुवैको मिश्रणबाट उत्पन्न रोमाञ्चको हुन्छ।

विवाहित पतिसँग प्रगाढ निकटता स्थापित भएर उससँग मनको स्तरमा सम्बन्ध नगाँसिएसम्म कुमारीको सपनामा आउने तर अनुहार प्रस्ट नदेखिने राजकुमारसँग बिछोडका लागि तयार हुने वा सपनाको राजकुमारलाई विपनामा राजा (दुलाहा)सँग भेट गराएर एकाकार गर्ने निर्णय अहिले नै गरिहाल्न नवविवाहिताको मन तयार भइसकेको हुँदैन। नवविवाहित पतिको अस्तित्व अस्वीकार गर्नु अब सम्भव भइसकेको हुन्छ भने उसलाई मनले पूर्ण रूपमा ग्रहण गरिहाल्न पनि छायासँग माया लाउनुजस्तो भएको अवस्थामा ऊ हुन्छे। यस अवस्थामा उसलाई आफ्नो जीवनसाथीसँग एकान्तमा भेट्ने रहर पनि त्यत्तिकै प्रबल हुन्छ जति अप्रत्याशित व्यवहारको आशंकाले उससँगको अवश्यम्भावी भेटलाई जतिसक्तो पर सार्ने बाध्यात्मक चाहना हुन्छ।

यस्तो अप्ठ्यारो मानसिक अन्तर्द्वन्द्वमा फसेकी नारीसँग भेट्न आतुर पुरुषका हातमा सुहागरात रूपी घोडाको लगाम हुन्छ। पुरुषको पहलजस्तो हुन्छ नारीको सम्पूर्ण अनुभव त्यसैबाट प्रभावित हुन्छ। भनिन्छ, पुरुषको यौन संवेग आँखाबाट प्रवेश गर्दछ भने नारीको चाहिँ कानबाट। अर्थात् पुरुष रूपबाट छिटै प्रभावित हुन्छ, नारी बोली र प्रशंसाबाट। यथार्थमा कुमारी नारीको कुमारीत्वलाई शारीरिक हाँक दिने सही समय पहिलो रात होइन। पहिलो रात त परिचयको रात हो। प्रेमविववाह नै भए पनि नारी आफ्नो परिवार छाडेर पुरुषका घरमा पहिलो पटक आफ्नो ठाउँ लिन आउँदछे र त्यसबेला आफ्नो हैसियतसहितको त्यहाँको वातावरणसँग ऊ अनभिज्ञ हुने हुँदा पुरुषले एकान्त भेट हुनेबित्तिकै सहजभावले सन्चो–बिसन्चो र थकाइको भलाकुसारीपछि पारीवारिक वातावरण र सदस्यहरूका बारेमा बताउनुपर्दछ।

उसले आफ्नो परिवार र जीवनमा उसको आगमनलाई अत्यन्त उत्साहित मनले स्वागत गर्नुपर्दछ। त्यसपछि उसले आफ्नी सुशील र सुन्दरी नवविवाहिता स्त्रीले आफूलाई पतिका रूपमा ग्रहण गरेकोमा कृतज्ञता व्यक्त गर्नुपर्दछ। आफ्नो परिवारको परिचय दिएर पत्नीलाई परिवारमा स्वागतका कुरा गर्दा र आफूलाई पतिका रूपमा स्वीकार गरेकोमा कृतज्ञता जनाउँदा नारीको संकोच र आशंका भरोसामा परिणत हुन्छ।

यस समयमा पुरुषले यौनसम्पर्कका लागि हतार नगरी सहज वातावरण बनाउनपट्टि लाग्दा उसले जीवनसाथीको विश्वास र सम्मान जित्छ। जुन दाम्पत्य जीवनमा आवश्यक दीर्घकालिक अनौपचारिक सम्बन्धको सिर्जना र विकासका लागि पनि सहयोगी हुन्छ। यसपछि उसको थकाइ र यस घरमा नयाँपनका कारणले धेरै दबाब नदिई दुवैको सुविधामा एकअर्काका जीवनका अनुभव साट्दै प्रथम रात्रिको आशंका र द्विविधापूर्ण भेटको अन्त्य भयो भने पुरुषलाई मानसिक कुमारीत्व समर्पणको अमूल्य उपहार प्राप्त हुन्छ। मेरो बाल्यकालतिर अरुणा लामाको स्वरमा रेडियो नेपालमा गुन्जिरहने एउटा गीतको अन्तराका यी दुई हरफहरूमा व्यक्त भावना सम्भवतः त्यसैबेलाको मनःस्थितिलाई राम्ररी व्याख्या गर्न सफल छन्ः ‘सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड…जीवनको बाटो छ लामो, एक्लै बीचमा नछोड।’

सुहागरातलाई एकदिने कर्मकाण्डभन्दा दाम्पत्य जीवनको उद्घाटनको समयमा हुने विशिष्ट मानसिकताको समुचित व्यवस्थापन गर्ने समयका रूपमा लिने हो भने यसमा सहभागी स्त्रीपुरुषहरूको मानसिक अवस्थालाई तीन चरणमा बाँडेर अध्ययन गर्नु राम्रो हुन्छ– आश्वासन, मित्रता र यौनसम्पर्क। अर्काे कुरो, पहिलो परिचयबाहेक अरू दुई चरणको तालिका र समयसीमा तोक्ने जिम्मा वयस्क दुलाहादुलहीलाई नै दिनुपर्छ। पहिलो रात्रिको संवादले र त्यसपछि पाइने शारीरिक विश्रामले दम्पतीलाई मानसिक र शारीरिक रूपमा पनि ताजा बनाउँदै एकअर्काप्रति आश्वस्त पार्दछ।

त्यसपछि दोस्रो चरण सुरु हुन्छ– मैत्रीभावको चरण। यसमा दम्पतीका बीचमा खुलेर दोहोरो संवाद हुन्छ। एकअर्काको अतीत र वर्तमानसमेत खोतल्ने कोसिस हुन सक्दछ। ख्यालठट्टाको आदानप्रदान पनि हुन सक्छ। जति बोले पनि बोल्ने कुरा चाङ लगाएर बाँकी बसेजस्तो लाग्दछ। पुरुषको जन्मजात स्वभावले गर्दा उसलाई नारीले थाहा नपाएको जस्तो लाग्नेबित्तिकै आफ्ना आँखाका तराजूमा तत्नीको शारीरिक नापतौल गर्न रोक्दैन। तर, पत्नीका मनमा भने शारीरिक पक्षले अझै प्राथमिकता सूचीमा ठाउँ पाएको हुँदैन। ऊ विश्वासको आधार पत्ता लगाउने काममै व्यस्त हुन्छे, ऊ नापतौलमै मस्त हुन्छ। ऊ दिगो आश्वासन खोज्दछे, ऊ छिटो उड्न खोज्दछ। यी दुवै खोजको बीचबाट तात्कालिक समझदारीको बुँदा जन्मन्छ– त्यो हो मित्रवत् सम्बन्धको समझदारी।

पुरुषस्त्रीबीचका सबै प्रणय सम्बन्धहरू परिचयबाट मित्रताको बाटो हुँदै यथार्थ यौन सम्बन्धसम्म पुग्दछन्। सुहागरात र अन्य सबै किसिमबाट विवाहअघि स्थापित हुन सक्ने सम्भोगका बेलाको मनःस्थितिमा सामान्यतया के फरक हुन्छ भने सुहागरातमा प्रक्रिया पूरा गर्नेको आग्रहभन्दा प्रक्रियाको महत्व बलियो हुन्छ, जसले गर्दा आग्रहलाई प्रक्रियाले अगाडि तान्नुपर्दछ। त्यसैले प्रक्रियालाई फास्ट फरवार्ड गरिएको भिडियो वा सिडी प्लेयरजस्तो गरी अघि बढ्न दिनु हुँदैन।

अरू अवस्थामा विवाहअघि स्थापित हुन सक्ने यौन सम्बन्धमा तुलनात्मक रूपमा आग्रह अघि बसेर प्रक्रियालाई फास्ट फरवार्ड गरिएको सीडी प्लेयरजस्तो गरी तान्दछ। अरू अवस्थामा स्थापित हुने प्रथम यौन सम्बन्धमा जस्तो स्वतन्त्र हरिणीको चालको अल्लारेपनको रोमान्सको सट्टा सुहागरातमा स्थापित हुने यौन सम्बन्धमा हस्तिनीको जस्तो ओजपूर्ण लचकता हुनुपर्दछ। यसबेला ‘सुनको फुल पार्ने कुखुरीलाई एकैदिनमा काटेर खानुभन्दा हुर्काएर राख्नु’ उपयुक्त हुने उक्तिलाई सामान्य मान्छेको बुद्धिले पनि गम्भीरताका साथ आत्मसात् गर्नैपर्दछ।

सुहागरातको तेस्रो र अन्ति चरण ‘प्रणय निवेदन र स्वीकृति’ हो। सुहागरातका प्रत्येक चरण कति लामा हुनुपर्दछ र कहिले कुन चरण सिद्धिएको हो कसरी बुझ्ने भन्ने प्रश्नको उत्तर संसारको कुनै पनि ज्योतिषी वा चिकित्सा विशेषज्ञले दिन सक्ने उत्तर होइनन्। सेकेन्ड, मिनेट, घण्टा, दिन अनि महिनामा पनि हुन सक्ने यो उत्तर दिने अन्तिम अधिकारी नवविवाहित दम्पती आफैँ हुन्।

तर, के कुरो सत्य हो भने सबै दम्पतीले यो सत्कर्म गर्न तीन वटै चरणलाई टेकेर जानैपर्दछ, छोटो बाटो छैन। त्यस्तो बाटो खोजियो भने दुर्घटना हुन सक्छ। प्रणय निवेदन गर्ने व्यक्ति यो सम्पूर्ण रथको सारथी अर्थात् ‘पुरुष’ हो। सङ्केतले, व्यवहारले वा वचनले उपयुक्त समयमा उसले यो कार्य गर्नुपर्दछ। स्त्रीको प्रारम्भिक प्रतिरोधबिना यस निवेदनमा स्वीकृति प्राप्त हुँदैन।

प्रतिरोधका तीन कारण छन्। एउटा त प्रतिरोधबिनाको स्वीकृतिमा रोमान्स हुँदैन। प्रतिरोध जति सशक्त भयो रोमान्सको उचाइ पनि त्यति नै बढ्दछ र अन्त्यमा प्राप्त हुने स्वीकृतिको सुन्दरता पनि त्यति नै बढ्दछ। दोस्रो कारण नारीको स्वाभाविक लज्जाबोध हो। कुमारी बेहुलीको प्रतिरोधको यसभन्दा पनि महत्वपूर्ण कारण प्रस्ताव राख्नेको जोखिम व्यवस्थापन क्षमतामाथि केही आशंका र आफ्नो अप्ठ्यारोमा सुरक्षाको माग हो। यो प्रतिरोध भित्रबाट पैदा हुन्छ र यसमा पुरुषले नारीलाई विश्वस्त पार्न सक्नुपर्दछ।

नारीहरूले सुहागरातका अघिल्ला दुई चरणमा पुरुषको धैर्य, अर्काको संवेदनशीलताप्रतिको उसको प्रतिक्रिया र उसको स्वार्थको सीमालाई विभिन्न कसीमा विभिन्न कोणबाट अध्ययन गर्ने कोसिस गर्दछन्।

विश्वासको वातावरण त्यसै पैदा हुँदैन। धेरै आग्रही र धेरै आतुर पुरुषलाई नारीले कम विश्वास गर्दछन्। त्यसकारण सुहागरातको समयमा पुरुषले जति धैर्य धारण गर्नसक्यो फाइदा पुरुषलाई नै छ। तातो तावामा रोटी छिटो पनि पाक्दछ र अपच हुने डर पनि हुँदैन। यो बेग्लै कुरो हो– तावा तात्न समय लाग्दछ। तर, रोटी खाएर स्वस्थ रहन चाहनेका लागि त्यो आवश्यक पूर्वाधार हो।

नारीहरूको यस प्रतिरोधका मुख्य कारणहरूमा संगीनीसँग हुने यौन चर्चा र यौन साहित्यहरूको अध्ययनका साथै सृष्टिले पुरुषलाई दिएको शारीरिक बल र पुरुषमा हुने तुलनात्मक कठोरताप्रति नारीको विकर्षण पनि हो। यो अर्कै कुरा हो– अन्तरमनमा यही कठोरता स्त्रीको पुरुषप्रतिको आकर्षणको रहस्यमध्ये एउटा तत्व पनि हुन सक्दछ।

कुमारी झिल्ली वा सतीच्छद फाट्ताको पीडा, योनिबाट हुनसक्ने रक्तस्राव, यौनातुर पुरुषका अंगहरूको कठोरताका कुराहरू कुमारी स्त्रीलाई तर्साउन यथेष्ट छन्। तर, त्यसभन्दा पनि महत्वपूर्ण कुरा त आफूलाई अप्ठ्यारो परिहाले आफूसँगैको मान्छेले त्यसलाई कसरी लिन्छ भन्ने हो। उसले यसको व्यवस्थापन कति सहानुभूतिपूर्वक गर्दछ? अप्ठ्यारो स्थितिमा उसले आफ्नो मात्रै आनन्द हेर्दछ कि आफूमाथि पर्नेको सजिलोलाई पनि प्राथमिकता दिन्छ? यसबेला नारीको मनःस्थिति पर्ने प्रभाव जीवनभरि रहन्छ। पुरुषले नारीलाई यसबेला आश्वस्त पार्न सकेन भने मनमा गहिरो घाउ लाग्न सक्छ। शरीरको घाउ त मामुली होला वा सजिलै निको होला, तर मनमा यसबेला बसेको अविश्वासको घाउ जीवनभरि निको नहुन सक्दछ।

आउँदो दाम्पत्य जीवनको लामो बाटामा सँगै हिँड्ने साथीको विश्वास जितेर सजिलो बनाउने कि अहिलेका क्षणिक आनन्दलाई महत्व दिएर भविष्यमा अविश्वासको गह्रौँ भारी बोकेर हिँडिरहनुपर्ने जोखिम मोल्ने? नारीको विश्वास काँचको भाँडाजस्तो हुन्छ, फुटेपछि फेरि जोडिँदैन। पहिलो रात वा पतिका त्यसपछिका व्यवहारहरूका आधारमा मूल्यांकन गरेर पतिलाई स्वार्थी र बलात्कारीसम्म भन्ने पत्नीहरूको पतिसँगको समस्याको मनोवैज्ञानिक व्यवस्थापन गरेको र गर्दै रहेको चिकित्यसकीय अनुभव मसँग थुप्रै छन्। सुहागरात दाम्पत्य जीवको प्रवेशद्वार हो। स्त्रीपुरुष दुवैले यही समयदेखि नै एकअर्काको मनोविज्ञान र सजिलो अप्ठ्यारोप्रति सकारात्मक चासो राख्न सुरु गर्नुपर्दछ। सुहागरातमा आफ्नो सोचाईअनुरूप यौन सम्बन्ध स्थापित हुन नसक्दा चरित्रमै अविश्वास उत्पन्न भएर दाम्पत्य जीवन दुर्घटनाग्रस्त भएको पनि मैले आफ्नो चिकित्स पेशाको अनुभवमा देखेको छु।

अति आतुरता र अति प्रतिरोध दुवै खतरनाक हुन्छन्। आतुरता रोमान्सयुक्त छ भने त्यो राम्रो हो, त्यस्तै प्रतिरोधमा रोमान्स छ भने त्यो पनि राम्रो हो। नाइँनाइँ भन्ने नारीले नै एउटा विन्दुमा पुगेर हँ भन्छे, त्यो निश्चित छ। नारी सुलभ लज्जाले पनि एकैपटक हँ भन्न दिँदैन। त्यो लज्जाबोध पनि नारी स्वभावको एउटा गहना हो। अनि आग्रहसहित प्रणय प्रस्ताव राख्ने पुरुषको सदाशयताको पनि कदर गर्नैपर्छ। त्यो संरक्षणको पहिलो आश्वासन हो। सकारात्मक सोचाइका साथ सही समय र वातावरणको प्रतीक्षा गर्नुपर्दछ। न्यूनतम मानवीय संवेदनाको इज्जत पनि राख्नैपर्छ।

कुमारीत्व र सुहागरातसँग जोडिएको अर्को एउटा महŒवपूर्ण पक्ष पनि छ– त्यो हो कुमारीझिल्ली। यसको चर्चाबिना यो लेख अधुरै रहनेछ। अंग्रेजीमा हाइमेन र संस्कृतमा कौमार्य झिल्ली भनिने यो झिल्ली योनिको मुखैमा अलि भित्रतिर रहेको हुन्छ। कसैमा यो झिल्ली बच्चादेखि नै हुँदैन वा एक कुनामा सानो मात्र हुन्छ। धेरैजसोमा इलास्टिकजस्तो यो झिल्ली योनिको एक भित्तादेखि अर्को भित्तासम्म फैलिएर रहेको हुन्छ। पहिलो सम्भोगसम्म यो झिल्ली योनिमार्गको मुखमा छ भने सम्भोगका बेला फाटेर हलुका रगत आउन सक्दछ र अरू एकदुई दिन योनिको मुखमा हलुका सुजन हुन सक्दछ।

सानै उमेरमा खेल्दा, कुद्दा वा लड्दा प्रत्यक्ष वा अप्रत्यक्ष आघातले यो झिल्ली आफैँ च्यातिन सक्दछ। यस झिल्लीको बीचमा महिनावारीको रगत जान सानो प्वाल हुन्छ। कसैकसैमा यो प्वाल ठूलो भएर त्यसैबाट यौनसम्पर्क सम्भव हुन्छ र बुढेसकालसम्म यो योनिको भित्तामा मात्र रहिरहन्छ भने अर्कातिर कसैकसैमा यस झिल्लीको बीचमा महिनावारीको रगत जान हुनुपर्ने प्वाल नभएका कारण रजस्वला हुन थालेपछि सानो शल्यक्रियाको प्रक्रियाद्वारा रगत जाने बाटो खोल्नुपर्ने पनि हुन सक्दछ। त्यसकारण पहिलो यौनसम्पर्कमा कुमारीझिल्ली फाटेर रगत आएन भने त्यसलाई चरित्रहीनता अथवा पहिल्यै यौनसम्पर्क भएको प्रमाण मान्नु पनि गलत हो अनि कुमारीझिल्ली फाटेर रगत आउनुलाई मात्रै पहिले यौनसम्पर्क नभएको प्रमाण मान्नु पनि गलत हो। कुमारीझिल्लीको नाम कुमारीत्वसँग जोडिए पनि त्यो कुमारीत्वको अकाट्य प्रमाण भने होइन।

(पोखरेलको पुस्तक ‘सृष्टिको रोमान्स’ बाट)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s