विदेशको झल्को दिने काठमाडौंका सडक

मिलन तिमिल्सिना/उज्यालो ।  काठमाडौ, असोज

दशैं मान्न विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? ६ महिना, एकवर्ष या त्योभन्दा धेरै अवधिपछि फर्कंदै हुनुहुन्छ भने तपाइँले विमानस्थल ओर्लेदेखि नै काठमाडौं फरक देख्नुहुनेछ ।

तपाइँले विदेश जाने बेला देखेको काठमाडौंले अहिले रुप फेरिसकेको छ । काठमाडौंका चिल्ला र फराकिला सडकले तपाइँलाई विदेशमै भएको झल्को दिनेछ ।

विमानस्थलदेखि नै तपाईंले परिवर्तनको महसुस गर्न पाउनुहुनेछ । जहाजबाट ओर्लिएर बस्ने ठाउँसम्म जानको लागि ट्याक्सी नै चढ्नुपर्ने पहिलेको जस्तो बाध्यता अब छैन ।

पहिले विमानस्थलको पार्किङ क्षेत्रसम्म निजी गाडी र ट्याक्सी मात्र जान पाउँथे । आफ्नो गाडी नहुनेले चर्को शुल्क तिरेर ट्याक्सी नै चढ्नुपर्थ्यो । तर अहिले विमानबाट ओर्लेर बाहिर निस्के लगत्तै तपाईंलाई साझा बसले पर्खिरहेको हुन्छ ।


काठमाडौंमा बैशाखदेखि पुनः सञ्चालन भएको साझा बस विमानस्थलको मुख्य गेटबाट भित्र पार्किङ क्षेत्रसम्म ओहोरदोहोर गर्न थालेपछि हवाई यात्रुलाई सहज भएको छ । १५ देखि २० रुपैंया तिरेर विमानस्थलदेखि बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर हुँदै कलंकीसम्म पुग्न सकिन्छ । साझा बस चढेपछि तपाईंलाई विमानस्थल भित्रैको रमणीय वातावरणले अर्को आनन्द दिनेछ ।

पानीको फोहोरा हेर्दै अघि बढेपछि तपाईंलाई विमानस्थलको गेटमै स्वागत मिल्नेछ । केही महिना मात्र पुनर्निर्माण गरिएको स्वागतद्वार पहिलेको भन्दा आकर्षक छ ।

गेट पार गरेपछि चक्रपथबाट बायाँ कोटेश्वर या दायाँ गौशाला जता जानुस्, ठाउँठाउँका फराकिला र चिल्ला सडक तपाईंलाई पक्कै नयाँ लाग्नेछ । दुई वर्षअघि कोटेश्वरदेखि भक्तपुरसम्म जापान सरकारको सहयोगमा बनेको सडकक्षेत्र मात्र होइन, काठमाडौंको चक्रपथ क्षेत्र र भित्रका केही सडक फराकिला र चिल्ला भैसकेका छन् । अबको केही दिनमा अरु सडक पनि यस्तै भैसक्ने सरकारले दावी गरेको छ ।

सरकारले काठमाडौंमा झण्डै ५ सय किलोमिटर विस्तार गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म २५ किलोमिटर सडकमा कालोपत्रे भैसकेको छ । एकसय २५ किलोमिटरमा धमाधम काम भैरहेको छ । २५ किलोमिटर कालोपत्रे हुँदैमा यति धेरै परिवर्तन देखिएकाले निर्माणाधिन सबै सडकमा कालोपत्रे भैसक्दा काठमाडौंको रुप नै अर्को हुने अपेक्षा गरिएको छ ।

दशैंसम्म कहाँ कति सडक बन्दै ?

काठमाडौं उपत्यकाका विस्तारित सडकमा मर्मत तथा पुनर्निर्माणको काम अहिले पनि धमाधम भैरहेको छ । भदौ १५ सम्म सबै काम सक्ने लक्ष्य भएपनि मौसमको कारण पूरा हुन नसकेको सरकारले बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाका अनुसार भदौ १५ गतेसम्मका लागि तोकिएको लक्ष्यमा कालोपत्रे गर्ने बाहेक प्रायः सबै काम सम्पन्न भएकोले असोज २० गतेसम्मका लागि अर्को लक्ष्य तोकिएको हो ।

सचिव बास्कोटाका अनुसार असोज २० गते सम्ममा १२ हजार ३० मिटर सडक कालोपत्रे गर्ने गरी लक्ष्य निर्धारण गरिएको छ । यसैगरी यस अवधिमा थप ८ हजार २०० मिटर ग्राभेल तयार हुनेछ । साथै यस अवधिमा ८ हजार २० मिटर फूटपाथ र १४ हजार ६ सय १० मिटर वेश र सव वेशकोर्ष निर्माण हुनेछ ।

विस्तारितमध्ये कालोपत्रे भैसकेको सडकले त विदेशको झल्को दिन्छ । तर कालोपत्रे भैनसकेका सडकमा भने पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मेको अवस्था कायमै छ । यत्रतत्र थुपारिएका निर्माण सामग्री, ठूला खाल्डा, भताभुंग पारिएका ढल र खानेपानीका पाइप, जथाभावी फालिएका टेलिफोन तारले गर्दा निर्माणाधिन सडकमा हिँड्न समेत गाह्रो छ ।

सबैभन्दा बेहाल बुढानिलकण्ठ सडकको छ । काम भैरहेका सडकले दशैंसम्म रुप फेर्छ भन्ने विश्वास चाहिँ गर्न सकिन्छ । सबै ठाउँको काम भनिएकै समयमा सकिने र दीगो व्यवस्थापन तथा संरक्षणमा ध्यान दिने हो भने काठमाडौं उपत्यकाका धेरै सडकले साँच्चै विदेशको झल्को दिनेछ ।

विदेशको झल्को दिने काठमाडौंका सडक

विदेशको झल्को दिने काठमाडौंका सडक

– See more at: http://ujyaaloonline.com/news/25440/Road-expansion-of-kathmandu-/#sthash.XJpF73yA.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s