पिनासको समस्या: के हो, कसरी हुन्छ, कसरी उपचार गर्ने, कसरी बच्ने?

पिनास वा साइनोसाइटिस भनेको के हो?

साइनोसाइटिस भनेको साइनस (Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्। यस्ता साइनसहरु चार प्रकारका हुन्छन्।फ्रन्टल साइनस/ Frontal sinus (निधारमा), म्याक्जिलरी साइनस/Maxillary sinus (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस/Ethmoidal sinus (आँखाहरुको बीचमा), स्फेनोइडल साइनस/Sphenoidal sinus ( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरुलाई समग्रमा पारानेजल साइनसेस(Paranasal sinuses) पनि भनिन्छ।

किन हुन्छ साइनोसाइटिस?

साइनोसाइटिस हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केहि गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्। कहिलेकािहं नाकको भित्री भागमा मासु पलाउने पोलिप(Polyp), ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द गरी साइनोसाइटिस गराउनमा भूमिका खेलिरहेका हुन्छन्। साथै चुरोटको धँुवाले वायु प्रदुषणको कारणले पनि साइनोसाइटिस हुनसक्छ। त्यस्तै रुघाको औषधीहरु (एन्टिहिस्टामीनिक्स/Antihistaminics – जसले नाकको तरल पदार्थ कम गरी सुख्खा बनाउँछ)को बढि प्रयोग, सुख्खा मौसमको सुख्खा हावा (आद्रता कम भएको हावा)मा श्वास लिने गर्नाले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थ म्युकस(Mucus)को मात्रामा कमि आइ साइनोसाइटिस हुनसक्छ।
कारणहरुको आधारमा यसलाई मुख्य दुई प्रकारमा बाड्न सकिन्छ।
क) एलर्जीक साइनोसाइटिस
ख) भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने साइनोसाइटिस

एक्युट र क्रोनिक साइनोसाइटिस भनेका के हुन्?
एक्युट साइनोसाइटिसः- ३० दिनभन्दा कमको साइनोसाइटिस। १० दिनभन्दा कम समयसम्म रहने साइनोसाइटिस प्राय: भाइरल संक्रमणका कारणले गर्दा हुनेगर्छ। यदि १० दिनभन्दा बढि यो समस्या रहेमा व्याक्टेरियल कारण हुने सम्भावना बढि रहन्छ।
क्रोनिक साइनोसाइटिसः- ३ महिना वा १२ हप्ताभन्दा बढि रहने साइनोसाइटिस। प्राय: गरेर एलर्जीक व्यक्तिहरुमा नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा साइनोसाइटिस लामो समयसम्म रहने हुन्छ।

आफूलाई साइनोसाइटिस भएको कसरी थाहा पाउने? यसका लक्षणहरु के के हुन्?
यसका मुख्य लक्षणहरु निम्न हुन्।
१) नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने,
२) नाक बन्द भइरहने,
३) टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
४) सँुघ्ने शक्तिमा कमि आउने आदि

कसैकसैमा विशेष गरी एक्युट साइनोसाइटिसमा ज्वरो आउने जीउ दुख्ने पनि हुन्छ। त्यस्तै टाउको विशेष गरी अगाडी झुक्दा दुख्ने भारी भएको जस्तो लाग्ने हुन्छ। म्याक्जिलरी साइनोसाइटिस भएको हो भने माथिका दाँतहरु दुख्ने गालातिर दुख्ने र इथमोइडल साइनोसाइटिस भएको हो भने आँखाहरुको पछाडि दुख्ने हुनसक्छ।
साइनोसाइटिस र रुघा भाइरल यु आर आइ/Viral URI (Upper Respiratory Infections), एलर्जीक राइनाइटिस(Allergic Rhinitis) भनेका फरक कुराहरु हुन्। रुघा र भाइरल URI भनेका नाक र माथिल्लो श्वासप्रश्वास नलीको साधारण संक्रमण वा इन्फ्लामेसन हो। एलर्जीक राइनाइटिस भनेको नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हो, यो प्राय: गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ।
नाक, श्वासप्रश्वासको नली, साइनसहरु, घाँटी आदी एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय: लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन्। जस्तै साधारण रुघाबाट शुरु भएर पछि साइनोसाइटिस हुनसक्छ, त्यस्तै साइनोसाइटिस, URI एकैपल्ट पनि देखिनसक्छ।
यस्ता लक्षणहरु देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु पद्दती अपनाउनु वा औषधी सेवन गर्नु उचित हुन्छ।

यो समस्याको लागि के के जाँचहरु गर्नुपर्ने हुनसक्छ?
साइनोसाइटिस प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छ अर्थात क्लिनिकल डायग्नोसिस गरिन्छ।
तर कहिलेकाहीं यो विभिन्न प्रकारका टाउको दुख्ने रोगहरु क्लस्टर हेडएक(Cluster Headache), माइग्रेन हेडएक(Migraine Headache) आदी दाँतको समस्याहरु, URI(Upper Respiratory Tract Infections), आँखाको समस्याहरु आदीसँग झुक्किने हुन्छ। साथै क्रोनिक साइनोसाइटिसमा लामो समयसम्म किन साइनोसाइटिस ठिक नभएको भनी कारण थाहा पाउनुपर्ने हुन्छ। यस्ता अवस्थाहरुमा एक्सरे, सिटि स्क्यान, रगतको जाँच (सेतो रक्तकोषहरुको संख्या, प्रकार, इ एस आर/ESR, ANCA को मात्रा), साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्ने हुनसक्छ।
साथै लामो समयसम्म ठिक नभएका यस्ता क्रोनिक साइनोसाइटिसहरुको बारेमा नाक कान घाटी रोग विशेषज्ञसँग छलफल गरी सल्लाह लिनु उपयुक्त हुन्छ।

यसको उपचार के हो?
साइनोसाइटिस प्राय: गरेर भाइरल संक्रमणका कारणले गर्दा हुने भएकोले यसको उपचार सिमटोम्याटिक अर्थात लक्षणहरुको उपचार गर्ने हुन्छ। भाइरल साइनोसाइटिसमा एन्टिबायटिकले काम गर्दैन र ७ देखि १० दिनमा यो आफैं ठिक भएर जान्छ। हाम्रोमा यस्ता समस्याहरुमा एन्टिबायटिक प्रयोग नगर्ने डाक्टर र एन्टिबायटिक खान नखोज्ने विरामी विरलै भेटिन्छन्, जसले गर्दा एन्टिबायटिकहरुको दुरुपयोग बढ्दो मात्रामा हुने गर्छ।
यसको उपचारमा प्रयोग गरिने औषधीहरु:-
१) टपिकल डिकन्जेस्टेन्ट(Topical Decongestant) वा नाकभित्र प्रयोग गरिने बन्द नाक खुलाउने औषधीहरु। जस्तै अक्सीमेटाजोलीन/ Oxymetazoline
२) टपिकल स्टेरोइड(Topical Steroid) – सिस्टेमीक स्टेरोइडले भने साइनोसाइटिसमा केहि फाइदा गर्दैन। 
३) म्युकोलाइटिक(Mucolytic) – यसले नाकको स्रावलाई पातलो बनाएर यसले साइनसहरुको बन्द मुख खोल्नुका साथै साइनस सफा गर्न पनि मद्दत गर्छ।
४) दुखाइ ज्वरोका औषधीहरु(Painkillers) – पारासिटामोलले साइनोसाइटिसको ज्वरो टाउको दुखाइमा काम गर्छ। ब्रुफेन, इन्डोमेथासिन जस्ता पेनकिलरहरुको धेरै प्रयोग गर्नु हुदैंन।
५) एन्टिबायटिक्स(Antibiotics) – भाइरल साइनोसाइटिसमा यसले केहि काम गर्दैन। हुनसक्ने सम्भावित व्याक्टेरियल संक्रमणलाई रोक्न यसको प्रयोग गर्न सकिन्छ तर त्यसो गर्दा फाइदा र बेफाइदा राम्रोसँग विचार गरेर मात्र प्रयोग गर्ने गर्नुपर्छ। व्याक्टेरियल संक्रमण हुनसक्ने अवस्थाहरु (उच्च ज्वरो आउने, एक्कासी अनुहार दुख्ने, सुन्निने, रातो हुने भएमा, १० दिनभन्दा लामो समयसम्म ठिक नभएमा, लक्षणहरु पहिला कम भएर फेरी दोहोरिएमा) मा भने एमोक्सीसीलिन, एमोक्सी-क्लाभ, एजिथ्रोमाइसिन, सेफाक्लोर आदी एन्टिबायटिकहरुको प्रयोगले फाइदा गर्ने गर्छ।
यसको साथै प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ। पानी मात्रको वाफ वा पानीसँग भिक्स, सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक र श्वासनलीहरु केहि खुल्न गई आराम महसुस हुन्छ। त्यस्तै मनतातो पानी वा नुनपानीले नाक सफा गर्ने गरेमा पनि केहि राहत मिल्छ। मनतातो पानीमा कपडा वा रुमाल भिजाएर निचोरी अनुहारमा राख्नाले पनि यसको दुखाइ कम हुन्छ।

साइनोसाइटिस हुनबाट कसरी बच्न सकिन्छ?
१) पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। यसले शरीरमा पानीको मात्रा कमि हुन दिदैन र साइनसहरु पनि सुख्खा हुनबाट बचाउँछ।
२) नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।
३) धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ। नाकको भित्री सतह त्यसमा हुने रौंहरुलाई खराब असर पुर्याउने चुरोटको धँुवा प्रदुषण रसायनहरु एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।
(Dr. Samir Lama, MDGP Resident)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s